दफा ४५
कानून व्यवसायीले आफ्नो पक्षले दिएको जानकारी प्रकट गर्न नहुने
(१) कानून व्यवसायीले आफूलाई नियुक्त गर्ने पक्षको लिखित अनुमति नलिई आफ्नो नियुक्तिको अवस्थामा वा सो गर्ने उद्देश्यले आफ्नो पक्ष वा निजको वारिसले दिएको कुनै जानकारी वा आफूलाई थाहा भएको कुनै लिखतको व्यहोरा वा आफूले दिएको कुनै सल्लाह प्रकट गर्न हुँदैन ।
तर (क) कुनै कानूनी काम गर्ने अभिप्रायले कुनै कानून व्यवसायीलाई दिएको कुनै जानकारी निजले प्रकट गर्न हुन्छ ।
(ख) कानून व्यवसायीको नियुक्ति भै सकेपछि कुनै अपराध भै निजले थाहा पाएमा सो कुरा निजले प्रकट गर्न हुन्छ ।
स्पष्टीकरण; यस दफाको प्रयोजनको लागि "कानून व्यवसायी" भन्नाले प्रचलित कानून बमोजिम कानून व्यवसाय गर्न अधिकारप्राप्त व्यक्ति सम्झनु पर्छ।
(२) उपदफा (१) बमोजिम कानून व्यवसायी उपर लगाइएको प्रतिबन्ध कानून व्यवसायीको रूपमा सो पक्षद्वारा निजको नियुक्ति समाप्त भै सकेपछि पनि कायम रहनेछ र सो प्रतिबन्ध कानून व्यवसायीको कारिन्दा, नोकर तथा दोभाषेलाई समेत लागू हुनेछ ।
(३) कुनै पक्षले आफ्ना तर्फका कुनै कानून व्यवसायीलाई उपदफा (१) मा उल्लेख भए बमोजिमको कुनै जानकारीको सम्वन्धमा कुनै गवाही दिन लगाएमा सो उपदफाको तात्पर्यको लागि सो पक्षले त्यस्तो जानकारी वा कुरा प्रकट गर्न अनुमति दिएको मानिनेछ ।